संवैधानिक राजसंस्था हिन्दु राष्ट्र र राष्ट्रियता मातृभुमि नेपालको आवश्यकता ।
- बिदुर बिष्ट, न्युर्योक, अमेरिका राजसंस्थाको औचित्य हाम्रो देश नेपालको भुराजनितिक अवस्था धार्मिक सामाजिक र सांस्कृतिक परिवेश एवं हाल विधमान राजनितिक अस्थिरताको पृष्ठभुमिमा संवैधानिक राजतन्त्र तथा बहुदलिय प्रजातन्त्रको सान्दर्भिकता अझ टड्कारो खाँचोको रुपमा देखा परिरहेको छ । दुई विशाल छिमेकी राष्ट्रहरु बिच अवस्थित नेपाल भुमिलाई वाह्य शक्तिहरुको निहित स्वार्थबाट छुटकारा दिलाई सुद्धढ राष्ट्रीयताको आधार तयार पार्दै सार्वभौम राष्ट्र र राष्ट्रिय एकताको प्रतिकको रुपमा महत्वपुर्ण भुमिका खेलेको र इतिहासमा मात्र सिमित नभई वर्तमान राजनितिक तरल अवस्थामा राष्ट्रियताको संरक्षण र संवर्दनका लागि हटी हैन डटी लड्ने नेपालीको शिर सदैव उच्च राख्ने बलियो संस्थाको रुपमा राजसंस्थालाई स्विकार गर्नु नै उत्तम र सुरक्षित उपाय हुनेछ । राजतन्त्रलाई शासन व्यवस्थाको रुपमा नलिई राष्ट्रिय एकता राष्ट्रिय स्वाभिमान र पहिचान सभ्यता सम्पदा र सम्मुन्नतिको प्रतिकको रुपमा हेरिनु उपयुक्त हुन्छ ।
संवैधानिक राजतन्त्रले अभिभावकत्व गरेको प्रजातान्त्रिक व्यवस्थामा राज्यको शासन पद्दती न्यायपुर्ण प्रजातान्त्रिक एवं मर्यादित र अनुशासित हुने गरेका थिए वर्तमान गणतन्त्रात्मक शासनको तुलनामा । आफुलाई लोकतान्त्रिक, अग्रगामी, क्रान्तिकारी, युगान्तकारी आदि इत्यादि भन्न रुचाउने सफल, असफल नेताहरुले ब्यक्तिगत र दलगत स्वार्थका लागी राष्ट्रियताको प्रश्नलाइ उपेक्षा गर्दै अनेकौं राष्ट्रघाती सम्झौता सन्धि र सहमति गरेका छन् तर राजसंस्थाले हाल सम्म राष्ट्र र जनताको शीर झुक्ने काम गरेको पाईदैन । बिगतमा राजनितिक नेताहरु जिम्मेवार उत्तरदायि र मर्यादित नहुँदाको अवस्थामा राजाबाट अभिभावकको दायित्व निर्वाह गर्ने क्रममा केही बिवाद र अपवादका घटनाहरुलाई कोट्याएर लामो इतिहास बोकेको शाह बंशीय राजाहरुले बिभिन्न काल खण्डमा नेपालको राष्ट्रियता जोगाउन महत्वपुर्ण योगदान र शाहसीक भुमिकालाई यत्तीकै भुल्नु भनेको हामीले पाएको आफ्नै परिचय र अस्तित्व मेटाउनु हो ।
राजसंस्थाको बिशेषता भनेको जस्तो सुकै आपतकालिन वा संक्रमणकालिन अवस्थामा पनि किंचित बिचलित नभई शान्त स्थिर एवं अनुशासित रही अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय प्राथमिकताको आधारमा राष्ट्र र जनताको संरक्षकको रुपमा अडिग रहनु हो । स्वभावतः गणतन्त्रवादी नेताहरु राष्ट्रको भन्दा आआफ्नो दलगत स्वार्थमा केन्द्रित हुन्छन् तर असल राजा कुनै दल गुट संप्रदाय वा जातको मात्र हित चिताउने संकिर्ण बिचारका हुँदैनन् । यहाँ स्मरण रहोस् स्वर्गीय नेता विपी कोईरालाले भनेका थिए की "प्रजातन्त्रवादीहरु राजासँग नतर्स, राजा प्रजातन्त्रवादीहरुसँग नझस्क" । अतः यस भनाईलाई मनन् गर्दै संवैधानिक राजतन्त्र बिचारधार स्विकार गर्ने प्रजातान्त्रिक शक्तिहरु एउटा कित्तामा र अतिबाद बिचारधार गणतन्त्रबादीहरु अर्को कित्तामा स्पष्ट रुपमा ध्रुर्वीकरण भएको वर्तमान नेपालको अवस्थालाई स्थायी निकास दिन संपुर्ण राष्ट्रबादीहरु राजसंस्था पुर्नस्थापनार्थ एक जुट हुन अनिवार्य रहन्छ ।
हिन्दुराष्ट्रको सान्दर्भिकताः हिन्दु धर्म खाली चलन चल्तिका लोक व्यवहार वा धार्मिक प्रद्दति मात्र होइन । यो त सर्वोकृष्ट जीवन पद्दति हो जसमा श्रद्धा, आस्था, करुणा र आध्यात्मिकता मिश्रित एक सन्तुलित बौद्धिक सनातन धर्मको कर्म रहन्छ । हिन्दु धर्मको पृथक बिशेषता भनेको यो कुनै ब्यक्ति बिशेषबाट प्रवर्तित छैन । हिन्दु धर्मलाई सनातन धर्म भनेको अनेकौ जात मनिषी श्रृषि महर्षिहरुको चिन्तन र ज्ञानबाट खारीएर तयार भएकोले हो । बिभिन्न बेद या उपनिशद् ग्रन्थमा उल्लेखित बाणीहरु कुनै जात बिशेष मानव रचित होइनन् । यसर्थ यस हिन्दु धर्मलाई कुनै बाहुन क्षेत्री जात वा समुदाय मात्रको हो भनेर भ्रम फैलाउनु भनेको हिन्दु संस्कृति माथी आयातित धर्म या संस्कृति मान्नेहरुको नियातबश् अनैतिक आक्रमण गर्ने र अन्तत्वगत्वा आयातित धार्मिक अतिवाद लाद्ने षड्यन्त्र मात्र हो भनेर बुझ्न सकिन्छ । बिकृत संस्कृतिको रुपमा देखा परेका जातिय छुवाछुत अनी चरम गरिवीपनलाई केवल हिन्दु धर्म र संस्कृतिसंग जोडेर बदनाम गर्ने अनी क्षणिक लोभ र लालसा देखाएर धर्म परिवर्तन गराउने रणनितिक प्रपंच हो भन्ने बुझिन्छ । देशको अराजनैतिक अवस्थाबाट उत्पन्न अन्याय अत्याचार अशान्ति अबिकसित सुचकहरुलाई यथास्थितिबाद राजतन्त्र र हिन्दु धर्मको परिणती हो भनी दोषारोपण लगाउदै जनताबाट म्यान्डेट नलिईकन एक्कासी अग्रगामी परिवर्तनका खातीर बिश्वको एक मात्र सनातन हिन्दु राष्ट्रलाई हटाइएको छ । हिन्दु धर्मसंस्किृति भनेकै शान्ति हो । तर शान्तिका दुत गौतम बुद्ध जन्मेको यो राष्ट्लाई बिभिन्न समयकालमा भए गरेका आन्दोलन शसष्त्र बिद्रोह युद्धबाट गुज्रेको इतिहासलाई ढाकछोप गर्दै बिश्व समुदायलाई शान्तिपुर्ण देशको रुपमा चिनारी दिन बृहत लुम्बिनी आयोजनाको नाममा द्दन्दकालीनका नाइके नै अधि सरेको तितो सत्यको बर्णन जती गरे पनी यी दानवरुपी बिखन्डनकारीहरुको मन मष्तिष्कमा धर्म र कर्तव्यपालनाको भावनात्मक शेष पनी पाउन सकिन्न । यद्यपी इश्वर या पुजा आराधना नगर्ने पनी हिन्दु हुन सक्छन् किनकी हिन्दुका ३३ करोड देवता छन् भन्ने पुराणहरुमा उल्लेख पाइन्छ । पहिले युद्धकालमा बिभिन्न भौतिक सामाजिक संरचनाहरु ध्वस्त पारे । डर त्रास र धम्कीकै भरमा राज्य सत्ता हात पारे । अहिले बिदेशी प्रभुहरुको इशारामा अनि आर्थिक प्रलोभनमा परेर नेपाली समाजको सदियौं देखि कायम रहेको सामाजिक धार्मिक सदभाव र एकतालाई जर्वजस्ती बिगार्न भत्काउन लागीपरेका छन् । शिव भगवानको तपोभुमी क्रृषि महर्षिको ज्ञानभुमी राजा जनकको आस्थाभुमी गौतम बुद्धको शान्तिभुमी र हिन्दु जिवनपद्दतिमा जिवनयापन गरेका अनी हिन्दु सभ्यता र संस्कृति अवलम्वन गरेका लाखौं कराडौं नेपालीहरुको जन्मभुमी या मातृभुमी नेपाललाई बिदेशीको लहलहैमा धर्मनिरपेक्षताको ढोल बजाएर नियोजित ढंगले साम्प्रदायिक मुठभेडको वीजारोपण गराइएको यस वर्तमान परिपेक्षमा यी दुई महन्वपुर्ण मन्त्रणलाई स्मरण गराउन चाहन्छु । १) सर्वधर्म समभावः २) स्वधर्मे निधनें श्रेयः परधर्मौ भयावहः । अतः यस संदर्भमा हिन्दु राष्ट्रको पहिचान र संरक्षणकालागी अनादिकालीन हिन्दुत्व जिवन पद्धतिमा अटाउनु हुने संपुर्ण धर्मावलम्वी र आस्थावान नेपालीहरुमा ब्रम्हज्ञानरुपी शाश्वत ज्ञान प्राप्त होस् भनी श्री पशुपतिनाथ संग प्राथना र मनकामना माईसँग कामना गर्दछु ।
एकतापुर्ण राष्ट्रियताः बाइसी चौबिसे राज्यहरुमा टुक्रा टुक्र बिभाजित नेपाल देशलाई महान संकल्पका साथ एकिकरणद्धारा निमार्ण गरिएको आधुनिक नेपाल महानायक युगपुरुष आर्दश पुरुष आदि इत्यादीले बिश्व इतिहासमा चर्चीत श्री ५ पृथ्वीनारायण शाहको गाथा अपरम्पार छ । त्यसताकाको उहाको अभिव्यक्ति "मेरा साना दुःखले आर्ज्येको मुलुक होईन यो चार बर्ण छत्तीस बर्णको फुलवारी हो" अझै पनी मार्मीक र सार्न्दभिक छन् । उहाँको अथक प्रयास र साहसबाट अनेकतामा एकता सहितको एक राष्ट्र नेपाल भनी जिवीत इतिहास बनेको छ । हाम्रा आदर्श एवं गौरवशाली देशभक्त बीरहरु पृथ्वी नारायण शाह, भानुभक्त आचार्य, भक्ति थापा, बलभद्र कुवंर, अमरिसंह थापा लगायत दर्जनौ महापुरुषहरुले पुर्याएका योगदान र बलीदानको संझना र सम्मान स्वरुप मनाइदै आएको बिशेष दिवसहरुलाई एकाएक हटाएर राज्यले अपमान अवमुल्यन र इतिहास मेट्ने कार्य गरेवाट राष्ट्रिय सुरक्षा र एकताको पाटो कमजोर बन्दै गईरहेको छ । राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरवारवाट हटाउन प्राविधिक कारणबश सफल भयौ भन्दैमा यी बिभिन्न ँतन्त्र’बादीहरुले हाम्रो गौरव र महत्वका बिषयहरुमा अनावश्यक नाम परिवर्तन गर्ने राष्ट्रिय झण्डा फेर्ने ऐतिहासिक शलिकहरु भत्काउने लगायत अनेकौं दुष्प्रयासहरु गरेका छन् । संबिधान सभाको निर्वाचन पश्चात् ठुलो दलका नाताले राज्य सत्ता कुम्ल्याउन सफल भएको पार्टी माओवादीले सत्ता प्राप्तिको उन्मादबाट बिकसित कट्वाल प्रकरणले सत्ताबाट सडकमा पछारिँदा कुर्लेका ती चर्का नाराहरुः बिदेशी प्रभुको हस्तछेप नागरिक सर्वोचता राष्ट्यि स्वधिनताका सवालहरु आज ठुल्दाई र सान्दाईको वीचको घुर्कीका कुरामात्र रहेछन् भन्ने छर्लंग भएका छन् । पछिल्ला समयमा सरकारमा रहेका मन्त्रिहरुबाट हुने गरेका बिवादास्पद अभिव्यक्तिहरुवाट नेपालको राष्ट्रियता जोगाउन कती चुनौतीहरु छन् भन्ने प्रष्ट हुन्छ । शरदसिह भण्डारीले तराईका २२ जिल्ला नेपालबाट छुट्न सक्ने चेतावनी दिइदा राष्ट्रघातीको आरोप सहित रक्षा मन्त्रिको पद छाड्नु पर्यो तर त्यो भन्दा नी डरलाग्दो बक्तव्य थियो नेपालका ७५ वटै जिल्लाहरु अन्य देशमा बिलय वा मर्ज हुन सक्ने भनी प्रधानमन्त्रि डा. बाबुराम भटृराईबाट आउदा त्यसको एक शब्द पनी बिरोध वा खण्डन माओबादी पार्टीबाट भएन । के माओवादीको राष्ट्रवाद भनेको यही हो ।
मुलुक द्धन्द पश्चात संबिधान निमार्ण गर्नु नयाँ थालनीको अवसर भएता पनी यस प्रकृयासंग जोडीएको चुनौतीपुर्ण बिषय राष्ट्र राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्नु हो । सामान्यतया संघीय राज्य निर्माण हुन खास तथ्य र संदर्भहरु जोडीएक हुन्छन् जस्तैः छरिएर रहेका राज्यहरुलाई एक ठांऊमा ल्याएर युनीयन बनाउनु उपनिबेशवाट स्वतन्त्र हुनु र छुटिन खोजेका राज्यलाई एक ढिक्का पार्नु । यी कुनैपनी अवस्था नेपालको संदर्भमा मेल खादैनन् । नेपाल देश एक स्वतन्त्र पहिचान र अस्तित्व कायम राखेर बिभिन्न धार्मिक सामाजिक एवं सांस्कृतिक परिवेश भित्र बिशेष भुराजनितिक अवस्थामा पनी संतुलित भएर एकताको सुत्रमा बाधिदै आईरहेको अवस्थामा यसरी एकीकृत भैसकेको राज्यलाई टुक्रयाएर संघीयराज्य बनाइनु हाम्रालागी प्रत्युपादक हुनेछ । हामीले "बिविधता भित्रको युनियन" खोजेका हौ की "बिविधता भित्रको युनिटि" यदि बिविधता भित्रको एकता हाम्रो रोजाई हो भने एकीकृत राज्य नै अनिवार्य छ जो हाम्रालागी हाम्रा पुर्खाहरुको त्याग साहस विरताबाट प्राप्त सिंगो राष्ट्र जिवित नै छ ।
अन्तमा हाल बिभिन्न कोणबाट स्वदेशी र बिदेशी दलालहरुको लह लहैमा लागेर जातीय आधारमा आत्मनिर्णय अधिकार सहितको संघीय राज्यको माग आईरहेको छ त्यसले अवश्य नै कालान्तरमा जातिय भाषिक र सांस्कृतिक तनावलाई चर्काएर एकीकृत राज्य बिखन्डित हुने र शक्तिको बाँडफाँड नभएर बिभाजन हुने पक्का छ भन्ने ठहर गर्दै नेपालमा संघीयताको औचित्य समाप्त भएको निष्कर्ष रहेको छ ।
|